आज मिति २०८० कार्तिक १८ गते श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय ,बराहक्षेत्र -५,कालाबन्जार,सुनसरीमा चन्दादाता श्री चिरञ्जीवी अग्रवाललाई एक विशेष समारोहमा भव्य स्वागत र सम्मान गरियो। यस अवसरमा श्री नरेन्द्र कुमार अग्रवाल ( विद्यालय व्यवस्थापन समितिका मानार्थ सदस्य )को पनि गरिमामय  उपस्थिति रहेको थियो।

          हालसालै श्री नरेन्द्र कुमार अग्रवालले स्वर्गीय माताको स्मृतिमा विद्यालयलाई ८ थान कम्प्युटर सेट पनि उपलब्ध गराउनु भएको थियो।

    ४० वर्ष अघि दाजुभाइ श्री चिरन्जिवी अग्रवाल र स्व. मदनलाल अग्रवालले बाबु स्व. डेडराज तोदि र बडाबाबु स्व. जगन्नाथ तोदिका स्मृतिमा पण्डित स्व. मेघनाथ शर्मा र तत्कालीन प्रधानपन्च स्व. टङ्कप्रसाद भट्टराईको पहलकदमीमा कक्षा १-१० सम्मका विद्यार्थीहरुलाई पठनपाठनमा सहजता होस भनी विद्यालय भवन निर्माण ,जग्गा दान गर्नुका साथै नगद रकम पनि उपलब्ध गरिदिएका थिए।त्यसैले तत्कालीन प्रचलित ऐन र नियमावली बमोजिम विद्यालयको नामाकरण श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय राखिएको हो।

      आजको यस विशेष समारोहमा जगन्नाथ र डेडराजका सन्तान दरसन्तान अर्थात् छोराहरु, नातिहरु, पनातिहरु, खनातिहरुमात्र नभएर जनातिहरुको समेत उपस्थितिले कार्यक्रमलाई झन विशेष बनाएको थियो।

      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुस्कल पराजुली र अन्य सदस्यहरु, शिक्षक अभिभावक सँघका अध्यक्ष श्री गोविन्द बिष्ट , सहायक प्रधानाध्यापकद्वय श्री योगराज पौडेल र श्री खड्ग बहादुर कार्की , शिक्षकहरु र कर्मचारीहरुले अग्रवाल परिवारलाई स्वागत गर्नुभएको थियो। 

      कार्यक्रममा ९२ वर्षीय अग्रवाल परिवारकै जेष्ठ सदस्य  श्री चिरञ्जीवी अग्रवालले पुर्खा जगन्नाथ र डेडराज तोदिले रोपेको सानो बेर्नालाई भरौलवासीले ठूलो बगैंचामा   परिणत गरेकोमा धन्यबाद र आभार व्यक्त गरेका थिए र यो बगैंचालाई यो अवस्थामा देखेर सम्पुर्ण अग्रवाल सन्ततिहरु आफ्ना पुर्खाहरुको लगानी र सत्कर्मप्रति गौरवान्वित हुँदै अझ फुल्न फलाउन आफुहरु हरपल तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । 

        विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा स्थानिय सरकार प्रमुख वडाध्यक्ष श्री रोहित काफ्लेले जगन्नाथ र डेडराजका सत्कर्मका कारण सम्पुर्ण भरौलबासीहरु लाभान्वित  र लाखौं युवाहरुको भाग्य र भविष्यलाई निर्धारण गरेकोमा भरौलबासीहरु वहाँहरुको ऋणी रहेको स्विकार गर्दै जनताको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

         शिक्षक श्री राज कुमार खड्काले सन्चालन गरेको यो कार्यक्रममा वरिष्ठ सहायक प्रधानाध्यापक श्री योगराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्यकै क्रममा दाताहरुका सन्ततिहरुलाई विद्यालयमा एकमुष्ठ रुपमा स्वागत गर्न पाउँदा आफुहरु हर्षित भएको कुरा व्यक्त गरेका थिए।

        सो अवसरमा जगन्नाथ र डेडराजका सन्ततिहरुले  कम्प्युटर ल्याब, पुस्तकालय ,विज्ञान प्रयोगशाला ,खानेपानी ,कृषि प्रयोगशाला , शौचालय र अन्य भौतिक पुर्वाधारहरुको अवलोकन र मौजुदा अवस्थाका बारेमा जानकारी लिएका थिए।

      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुस्कल पराजुलीले पनि समय समयमा पटक पटक विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरि अभिभावकत्व पाएकोमा हार्दिक धन्यवाद दिनुका साथै यो साथ र अभिभावकत्व भविष्यमा पनि निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभएको थियो।

      पण्डित  स्व.मेघनाथ  शर्माका सुपुत्र श्री सुरेश शर्मा(सुरेशबाबु)ले विद्यालयमा आवागमनमा सहजताका लागि थप एउटा बस उपलब्ध गराउन आफुले पहल गर्ने र तत्काल चिसो खानेपानी (कुलर) को  व्यवस्था गर्न आफू सकारात्मक रहेको बताए।